'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Monday, 19 January 2026

बिना भोक तलतल लाग्नुको कारण, परिणाम र समाधान

डासिर्जना भण्डारी

  #अध्यात्म_दर्शन #जीवन_दर्शन 




विषय प्रवेश D

वर्तमान समयको खासगिरि खानपिनको सन्दर्भमा अति उपभोक्तावादी जीवनशैलीमा अधिकांश मनुष्यहरुको प्रतिनिधि जिज्ञासा तथा समस्या हो यो । हरेक मनुष्यले शारीरिक रुपले स्वस्थ रहनाका लागि आफूले खाएको खानेकुरा पचाउन र पचेको खानाबाट शरीरमा उत्पन्न भएको उर्जा खपत गर्ने तथा जलाउने शारीरिक तथा मानसिक गतिविधिहरु पर्याप्त मात्रामा गर्नुपर्दछ अन्यथा ज्यादा उर्जा संगहका कारण मोटोपन हुने र त्यसैबाट विभिन्न प्रकारका असन्तुलन, अस्वस्थता तथा बिमारीहरु उत्पन्न हुन्छन् । यस्तो अवस्थामा प्राय निद्रा राम्ररी नलाग्ने, अनिद्रासंगै पाचन क्रियामा असन्तुलन हुने र खाना राम्ररी नपच्ने समस्या हुन्छ । खाना राम्ररी पचेन भने अपच भएको खानानै पेटमा सड्छ र अनेक प्रकारका अस्वस्थता तथा बिमारीहरुमा रुपान्तरण हुन्छ । शरीरले पचाउने भन्दा बढि खाना खानु र खानाबाट प्राप्त भएको उर्जा पूरा खपत नहुनु नै आहारको असन्तुलन हो र आहार तथा खानापिनको असन्तुलन पेटबाट उत्पन्न हुने विमारीहरुको प्रमुख कारण हो । यस्तो असन्तुलनबाट आउने विभिन्न अस्वस्थता तथा बिमारीहरु मध्य बिना भोक तलतल लागिरहनु एउटा समस्या हो र यो पनि एकप्रकारको बिमारी नै हो यद्धपि बिना भोक तलतल लाग्नुका कारणहरु धेरै हुन सक्दछन् । कतिपय अवस्थामा तलतल लाग्नुको भोक लाग्नु र उर्जाको खपत भएनभएसंग सरोकार रहदैन । भोक नभए पनि तलतल लागिरहेनु शरीरलाई लगाइएको खराव बानी हो घरिघरि ठोस खाना खाइरहने बानीले शरीरका कोषहरु यसैमा बानी पर्दछन् र खानाको आश गरिरहन्छन् । खाइरहने बानीमा अभिसप्त भएका कोषहरुले खानाको आश गरेको अवस्थानै तलतल हो यो वास्तविक भोक लागेको अवस्था होइन ।


सामान्य अवस्थामा तलतल लाग्नु भोक लागेको हो

खाना खाएको ४–५–६ घण्टा भैसकेको छ र शरीर तथा मनले गर्ने गतिविधिहरु सामान्य अवस्थामा चलिरहेको छ भने वास्तविक भोक लागेर नै के खाउँ के खाउँ जस्तो लागेको तथा तलतल लागेको हुनसक्छ र यो तलतल लागेको अवस्था होइन भोकनै लागेको अवस्था हो र राम्रो तथा स्वस्थकर अवस्था हो ।

 

शरीरलाई बानी लगाएको कारण बिना भोक तलतल लाग्छ

प्राय तलतल लाग्ने कारण एकपटकमा थोरै खानेकुरा खाने र चाँडचाँडै कुचुकुचु खाइराख्ने बानी लागेको तथा शरीरलाई यस्तो बानी लगाइएको छ भने शरीरका कोषहरु त्यस्तै अवस्थामा बानी पर्दछन् र तलतल लागिरहन्छ । यसको उपाय तथा समाधान एकपटकमा पेटभरि खाना खाने र विशेष परिस्थितिमा बाहेक सामान्य अवस्थामा चार–पाँच घण्टासम्म कुनै प्रकारका ठोस खानेकुराहरु नखाने, हल्का तरल खानेकुराहरु मात्र खाने बानीमा लगाउनु पर्दछ शरीरलाई । शरीरका कोषहरुलाई एकै प्रकारको अन्नमा बानी पारेकै कारण भातनै चाहिने रोटीले नहुने र पेटभरि रोटी खाएपनि तलतल लागिरहने हुन्छ शरीरका बोष तथा मांसपेसीहरुलाई भातको पौष्टिकतामा एकोहोरिएका तथा बानी परेका कारण । प्राय शरीरलाई नियमित रुपमा एकै समयमा एकै प्रकारको खाना जस्तो कार्बोहाइड्रेड(भात), ग्लुटोन(गहुँ), अत्यधिक गुलियो(मिठाइ)मा बानी पार्नु राम्रो होइन किनकी यसरी निश्चित समयमा निश्चित प्रकारको खानामा बानी परेको शरीरले उक्त समयमा अन्य प्रकारको खाना पेटभरि ग्रहण गरे पनि उसलाई खानाबाट मिल्नुपर्ने तृप्ति मिल्दैन र पेट भरिएको अवस्थामा पनि के खाउँ के खाउँ भन्ने तलतल लागिरहन्छ र स्वास्थ्यका लागि यो असहज तथा नोक्सान पुर्याउन सक्ने अवस्था हो । तसर्थ हरेक दिन विभिन्न प्रकारका खानेकुराका फरक–फरक परकारहरु बनाएर खानुपर्दछ ।


लोभ गर्ने बानीका कारण बिना भोक तलतल लाग्छ

कसैको खानामा असाध्यै लोभ गर्ने बानी हुन्छ, मिठो कुरा सबै आफैं खाउँ अरुलाई नदिउँ, शरीरले पचाउन तथा उर्जा खपत गर्न नसक्ने अवस्थामा पनि जबजस्ती खाने तथा कोच्ने गर्दछन्, एकैपटक खाइ नसके लुकाएर राखेर, पुरानो पारेर भएपनि अर्कोले खाइदेला तथा खाइसक्ला, आफ्नो भागमा कम आउला भन्ने डरले शरीरलाई नचाहिएको समयमा पनि, खान मन नभइनभइ पनि जवरजस्ती चाहिने भन्दा बढि खाना खाने लोभि मनको कारण शरीरको बानी बिग्रन्छ र अरुबेला पनि शरीरले त्यस्तै अवस्था खोज्दछ, केही खाना प्राप्त गर्ने आशा गरिराख्छ र यही अवस्था हो बिना भोक पनि के खाउँ के खाउँ भन्ने जस्तो तलतल लागिरहने । यस्तो अवस्था स्वास्थ्यका लागि असहज र अत्यन्तै नोक्सान पुर्याउन सक्ने अवस्था हो ।

 

तनाव तथा चिन्ताका कारण बिना भोक तलतल लाग्छ

पछिल्लो समय आधूनिक चिकित्सा विज्ञान तथा आधूनिक मनोविज्ञानले मनुष्यहरुमा देखिएका विभिन्न समस्या तथा अस्वस्थताका कारणहरु पत्ता लगाउन गरेका वैज्ञानिकतामा आधारित प्रामाणिक अध्ययनहरुले देखाए अनुसार मानसिक तनाव तथा चिन्ताको बेहोसी(मन विगत तथा भविश्यको चिन्तामा डुलिरहेको अवस्था)मा रहेको व्यक्तिलाई बिना भोक तलतल लाग्ने र यस्तो समयमा उसले शरीरले पचाउ सक्ने तथा उर्जा खपत गर्न सक्ने भन्दा अत्यधिक बढि खाने खराव आदत बनिसकेको हुन्छ किनकी तनाव तथा चिन्तामा रहेको व्यक्तिले प्राय बेहोसिमा खाना खाने हुनाले उसलाई के खाएं, कति खाएं, कसरी खाएं, कतिबेर खाएं भन्ने समेत पत्तो हुदैन । यसो हुनुको प्रमुख कारण तनाव तथा चिन्ताले शरीरको उर्जा खपत गर्ने हुनाले शरीर शिथिल हुने, शरीरमा उर्जा नभएको तथा कमजोर भएको जस्तो अनुभव हुने, शरीरका कोषहरुले भोक लागेको महसुस गर्दछन् तर यो वास्तविक भोक होइन झुठो भोक हो र यो अवस्था स्वास्थ्यका लागि अझ असहज तथा नोक्सान पुर्याउन सक्ने अवस्था हो किनकी अनावश्यक खाना खानु, खाना अपच हुनु र खानाबाट प्राप्त भएको उर्जा समयमै खपत गर्न नसक्नु र उर्जा खपत नभइकन फेरी खाना खानु नै खानपान तथा पेटबाट उत्पन्न हुने विभिन्न प्रकारका अस्वस्थता तथा बिमारीहरुको प्रमुख कारण हो । आधूनिक चिकित्सा विज्ञानका वैज्ञानिकतामा आधारित प्रामाणिक अध्ययनका तथ्यांकहरु र सनातन दर्शनका आहार विज्ञान तथा स्वास्थ्यसंग सम्वन्धित ज्ञान तथा विज्ञानहरुका अनुसार मनुष्यको शरीरमा लाग्ने रोगहरुमा सबैभन्दा बढि पेटबाट– ८० प्रतिशत, र बाँकी २० प्रतिशत छाति र मस्तिष्कबाट उत्पन्न हुने गर्दछन् र विस्तारै शरीरभरि फैलिन्छन् । यसकारण स्वस्थ शरीरकालागि हरेक मनुष्यले सबैभन्दा बढि आहार–विहारमा पर्याप्त विचार पुर्याउनु पर्दछ । पौष्टिकताको लागि सन्तुलित आहार ग्रहण गर्नुपर्दछ । खानपानबाट प्राप्त उर्जाको खपतकालागि पर्याप्त व्यायाम तथा योग साधना साथै विभिन्न प्रकारका शारीरिक र मानसकि क्रियाकलापहरु गर्नुपर्दछ ताकि खानपानको जीवनशैली र शरीर तथा मनको स्वास्थ्य व्यवस्थापन सहि प्रकारले हुनसकोस् । 


रसायनको प्रभावका कारण बिना भोक तलतल लाग्छ

वर्तमान समयमा बजारमा सबैप्रकारका खाने कुराहरु किन्न पाइन्छन् । यी खाने कुराहरुलाई लामो समय टिकाउन र स्वाद मिठो बनाएर ग्राहक पल्काउन कुनै न कुनै प्रकारका स्वास्थ्यका लागि हानिकारक हुने रसायन(केमिकल) तथा विषादीहरुको प्रयोग गरिएका हुन्छन् । यस्ता लामो समय टिकाउन, स्वाद बढाउन र आकर्षक देखाउन प्रयोग गरिने रसायनयुक्त रंग, मसला तथा प्रिजरभेटीभका सामग्रीहरुले मनुष्यको शरीरका सुक्ष्म कोषिकाहरुको सक्रियता तथा ज्ञान लिने क्षमता मारिदिन्छन्, यसकारण उसलाई के खाइरहेको छु, कति, कस्तो, कसरी खाइरहेको छु भन्ने होसनै हुदैन जसरी मदिरा खाएको व्यक्तिका मस्तिष्कका सक्रिय, ज्ञान लिने तथा थाहा पाउने कोषिकाहरु मदिरामा रहेको रसायनले मरेका कारण उसलाई केही पनि थाहा हुदैन । ठिक यस्तै अवस्था वाहिरका अति प्रशोधित गरिएका र रसायन तथा शरीरकालागि हानिकारक विषादी हालेर तयार पारिएका खानेकुराको सेवनले हाम्रो शरीरमा देखा पर्दछ र शरीरमा विभिन्न प्रकारका असन्तुलन, अस्वस्थता तथा बिमारीहरु देखा पर्दछन् ।

 

यस्ता हानिकारक रसायनहरुको नकारात्मक प्रभावका कारण व्यक्तिको मस्तिष्क र शरीरका सक्रिय र सहि सूचना प्रदान गर्ने कोषिकाहरुलाई छोटो तथा लामो समयकालागि लठ्ठीन्छन् र निष्क्रिय हुन्छन् । यस्तो अवस्थाको दोहोरो नकारात्मक प्रभाव हुन्छ, पहिलो के खाइरहेको छु, कति, कसरी खाइरहेको छु भन्ने ज्ञान मस्तिष्कका कोषिकाहरुलाई हुदैन र अर्को समय समयमा अव त्यो खानेकुरा खाउँखाउँ जस्तो तलतल लागिरहन्छ भोक नलागे पनि, विस्तारै नखाइनहुने हुन्छ, यो अवस्थालाई आशक्ति(एडिक्सन) भनिन्छ । सुर्तीजन्य अम्मल, मदिरा, प्याकेट तथा डिब्बा बन्द खानेकुराहरु, कोक–फेन्टा तथा सोडाजन्य पेयहरु, चिया, कफि आदिले यसप्रकारको आशक्ति गराउछ र अति तलतल लगाउछ । यो अवस्था स्वास्थ्यकोलागि अत्यन्तै हानिकारक हुन्छ किनकी व्यक्तिले यी–यी कुराहरुले आफूलाई हानि गर्छ भनेर जान्दाजान्दै पनि तिनको सेवन तथा प्रयोग गर्दछ । यी खानेकुराहरुमा रहेको रसायनहरुले व्यक्तिलाई अतिनै तलतल लगाएदिने, नखाइ बस्नै नसक्ने गराइदिन्छ किनकी यसका रसायनहरुले शरीरमा भएका पुराना लाभदायक कोषिकाहरु विस्तारै मारिदिन्छ र त्यसको ठाउँमा ती खानेकुराहरु रुचाउने प्रकारका नयाँ कोषिकाहरु निर्माण हुने अवस्था बनाइदिन्छ र यस्तो अवस्थामा वाहिरको खाना खाने व्यक्तिलाई के खाना, कति, कसरी, किन, केलागि खाइरहेको छु भन्ने थाहा नै हुदैन मात्र स्वादको आनन्दमा रमाइरहन्छ, भूलिरहन्छ, खाइरहन्छ, तौल, बोसो बढाइरहन्छ । यसरी वाहिरका रसायनयुक्त खानपानका कारण बिना भोक लागिरहने तलतल र शरीरमा लाग्ने असन्तुलित बोसो तथा अतिरिक्त तौलनै विभिन्न प्रकारका अस्वस्थता तथा बिमारीहरुको मूल कारण हो । यसकारण तलतल सामान्य अवस्था होइन, यसले स्वास्थ्य तथा शरीरका सबै आयामहरुमा हरप्रकारले नकारात्मक प्रभाव पार्दछ र हाम्रो जीवनको व्यवस्थाप र विकासमा अवरोध खडा गर्दछ ।


तलतल हटाउने सरल समाधान– जीवनशैलीमा सुधार र व्रत 

जीवनशैलीमा सुधार

जीवनशैली अन्तर्गत मोटामोटी रुपमामा हाम्रा दैनिक गतिविधिहरु पर्दछन्– आहार–विहार–विचार अर्थात खानपान, व्यायाम र व्यवहार आदि । हाम्रो आहार तथा खानपान सकेसम्म शुद्ध, सात्विक, पोषण युक्त, ताजा, कम प्रशोधित, रसायन मुक्त, मौसमी, स्थानिय होस । दैनिक रुपमा यसता खानेकुराहरु खाने बानी बसाउनु पर्दछ ताकि भोक लाग्ने प्रकृति, पाचन क्रिया तथा पाचन प्रणाली संधै स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित रहोस । शरीरले खाएको खानाबाट प्राप्त भएको उर्जा समयमै खपत हुनु अत्यावश्यक हुन्छ, यसकालागि पर्याप्त शारीरिक तथा मानसिक श्रमको आवश्यकता पर्दछ । तर हिजोआजको जीवनशैली निष्क्रिय बन्दै गैरहेको छ, निष्क्रियताले आफूले खाएको खानाको उर्जा खपत नभएर बोसोका विभिन्न स्वरुपमा शरीरभित्रै संग्रहीत भएर तथा थुप्रेर रहेको कारण शरीरमा विभिन्न प्रकारका असन्तुलन, अस्वस्थता तथा बिमारीहरु देखिइरहेका छन् । शरीरको अतिरिक्त उर्जा खपत गर्न पर्याप्त शारीरिक तथा मानसिक गतिविधिहरु पुग्दैनन् तथा छैनन् भने त्यस्ता व्यक्तिहरु अनिवार्य रुपमा व्यायाम तथा योगासनका प्रयोगात्मक अभ्यासहरु गर्नुपर्दछ नियमित रुपमा । शारीरिक शरीरलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्न खानपान र व्यायाम सन्तुलित गरेसंगै हामीले हाम्रो मानसिक, भावनात्म, वौद्धिक र चेतनात्मक शरीरहरुलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्न आफ्ना सोच, विचार, बोली, व्यवहार, आचरण, चरित्र पनि सन्तुलित राख्र्नु पर्दछ अनिवार्य रुपमा । यस सन्दर्भमा महान कुटनीतिज्ञ चाणक्य, स्वामी विवेकानन्द साथै धेरै चैतन्य चेतनाहरुले भन्नुभएको छ, “आफ्नो विचारलाई वसमा राखौं किनकी विचार नै हाम्रो वाणि बन्छ । आफ्नो वाणिलाई वसमा राखौं किनकी वाणि नै हाम्रो कर्म बन्छ । आफ्नो कर्मलाई वसमा राखौं किनकी कर्म नै हाम्रो आदत बन्छ । आफ्नो आदतलाई वसमा राखौं किनकी आदत नै हाम्रो चरित्र बन्छ । आफ्नो चरित्रलाई वसमा राखौं किनकी चरित्र नै हाम्रो भाग्य बन्छ । भाग्य भनेको हाम्रो विगत+वर्तमान+भविश्य हो र भविश्य भनेको यस जन्मका आउने दिनहरु र अर्को–अर्को–अर्को पूनरजन्मका आउने दिनहरु हुन् किनकी हामी आत्मा हौं, आत्माले शरीर फेरीरहन्छ र नयाँ–नयाँ जन्महरुमा यात्रा गरिरहन्छ र अघिल्लो जन्मका राम्रा नराम्रा सबै विचार, वाणि, कर्म, आदत, चरित्र, भाग्य सबै मृत्यु हुदा आत्मासंगै जान्छन् र पुनरजन्म हुदा आत्मसंगै आउछन् किनकी यी सबै कामहरु शरीरको माध्यमबाट आत्माले नै गरेको हो र ती सबै विचार, वाणि, कर्म, आदत, चरित्र, भाग्य हाम्रो हरेक जन्मका जीवनशैली बन्छन् ।”

 

सनातन व्रत तथा उपवास

सनातन अध्यात्म, धर्म तथा संस्कृति र आयुर्वेद चिकित्साका अनुसार व्रत तथा उपवासको वास्तविक अर्थ, परिभाषा र उद्देश्य शरीर, मन, प्राण, भाव, वुद्धि, आत्मिक र पारमार्थिक शुद्धिकालागि आवश्यकता अनुसार त्यागको भाव राख्नु हो तर हिजोआज व्रत तथा उपवासको अर्थ, परिभाषा र उद्देश्य परिवर्तन भएको छ तथा आधूनिकिकरण भएको छ । हिजोआज व्रत तथा उपवास बस्नु भनेको भोजनको प्रकृति परिवर्तन अर्थात चामल छोडेर मकै, गहुँ आदि पेटभरि सेवन गर्नु; पहिरनको फेसन गर्नु; होहल्लाको जमघट गर्नु; बेअर्थको गानाबजाना तथा अनावश्यक उत्सव गर्नु आदि भएको छ । वास्तविकतामा सनातन योग विज्ञान र आयुर्वेद विज्ञानका अनुसार व्रत तथा उपवास भनेको अन्न तथा अन्य खानेकुराहरुको त्याग गरेर शरीर आफैंले प्राकृतिक रुपमा गर्ने आत्म–चिकित्सा(अटोफेजी) पद्धतिलाई मद्धत पुर्याउनका लागि पाचन क्रिया, पाचन प्रणाली, पेट तथा पुरै शरीरलाई आराम दिनु, हलुका राख्नु र हलुका शरीरले मन, प्राण, भाव, वुद्धि, आत्मिक र पारमार्थिक विकासका लागि इश्वरको भक्ति, प्रार्थना तथा उपासना गर्नु हो । यसकारण व्रत तथा उपवास भनेको केवल अन्न तथा खानेकुराहरुको परिवर्तन तथा त्याग गर्नु मात्र होइन, आफ्नो मन, भाव, वुद्धि, चेतनाका नराम्रा आदतहरु; मानवीय विकार तथा क्लेशहरु– काम, क्रोध, लोभ, मोह, इष्र्या, अहंकार; र चित्तका वृत्तिहरु– अविद्या, अस्मिता, राग, द्वेश, अधिनिवेश आदिको पनि त्याग गरेर काया शरीर संससंगै इन्द्रियका वृत्तिहरुको शुद्धि अर्थात इन्द्रियहरुमाथि नियन्त्रण तथा प्रत्याहार; मानसिक शुद्धि; भावनात्मक शुद्धि; वौद्धिक शुद्धि; र आत्मिक अर्थात चेतनात्मक शुद्धि गरेर यी सबै आयामहरुको विकास गरि आफ्ना सबै नराम्रा बानी, गलत सोच तथा विचार, व्यवहार, आचरण, चरित्रहरुको त्याग गरेर प्रेम, सदभाव, सेवा, दान, पुण्यको मार्ग अपनाएर आफुलाई हरप्रकारले शुद्ध, प्रेमल र शान्त बनाएर आफूमा आध्यात्मिकताको विकास गर्नु तथा परमात्मा साक्षातकारका लागि आफूमा पात्रताको विकास गर्नु हो ।


आधूनिक व्रत तथा फास्टीङ

सनातन संस्कृति व्रत तथा उपवासको विज्ञानलाई आधूनिक विज्ञानले पनि वैज्ञानिक रुपमै अनुशरण गरेको छ । सनातन आयुर्वेदको शरीर आफैंले शरीरको प्राकृतिक उपचार गर्ने आत्म–चिकित्सा (अटोफेजी) पद्धतिलाई विभिन्न कोणबाट अध्ययन गरेर फरक–फरक प्रकारका सिद्धान्तहरु प्रतिपादन गरिएका सन् । यी सिद्धान्तहरु मध्य आजको आधूनिक समयमा मानिस पूर्ण रूपमा स्वस्थ रहन फास्टीङको भूमिका, महत्व तथा यसका सबै आयामहरुको लामो समय लगाएर वैज्ञानिक प्रयोगद्वारा प्रमाणित गरिएका तथ्यहरु समेटेर जापनीज नागरीक डा. योसिनोरी ओसुमीले लेखेको विश्व प्रसिद्ध पुस्तक ‘अटोफेजी (आत्म–चिकित्सा तथा फ्युल रिसाइक्लीगं)’ सन् २०१६ मा नोवेल पुरस्कारबाट सम्मानित भएको थियो । पूर्णतः वैज्ञानिक खोजका तथ्य र तथ्यांकहरुमा आधारीत यस पुस्तकमा उपवास तथा फास्टीङको सन्दर्भ, आवश्यकता, उद्देश्य, प्रकार, विधि, तरिका, तालिका, महत्व, फास्टिगंको समय, फास्टिगंको समयमा ग्रहण गरिने पेय तथा भोजन र फास्टीङको समयमा शरीरमा हुने आन्तरिक क्रिया तथा प्रक्रिया आदिबारे अत्यन्तै प्रभावकारी ढंगले विस्तारपूर्वक व्याख्या तथा विश्लेषण गरिएको छ ।


फास्टीङको उद्देश्य, प्रकार र महत्व

फास्टीङको मुख्य उद्देश्य मानिसको शरीर स्वस्थ राख्नु रहेको छ किनकी विश्वका पछिल्ला तथ्य र तथ्यांकहरुलाई हेर्दा मानिसमा आहारको न्यूनताले भन्दा अधिकता अर्थात बढि खाएर विभिन्न प्रकारका स्वास्थ्य समस्या तथा रोगहरु देखिएका छन् । भौतिक विज्ञानको प्रगतिमा आएको क्रान्तिले विकास र विनास दुवै ल्याएको यथार्थ हामी सबैलाई विदितै छ । मानिसको जीवनको यही समस्या समाधान गर्ने उद्देश्यले सक्दो प्रयोगात्मक वैज्ञानिक खोज गरेर अटोफेजी अर्थात आत्म–चिकित्सा जस्ता तथ्य र तथ्यांक सहितका  प्रामाणिक पुस्तकहरु बजारमा ल्याइएका छन् ताकि मानिसले स्वास्थ्यबारे तथ्यगत किसिमले जानोस, आफ्नो दैनिकीमा त्यसको अनुशरण गरोस र स्वस्थ रहन सकोस् । अटोफेजी लगायत मानिसको स्वास्थ्यमा वैज्ञानिक खोज गरिएका अन्य पुस्तकहरुको मूल आशय मानिसले आफ्नो शरीरको प्रकृति(त्रिदोष–वाथ, कफ, पित्त) अनुसार स्वस्थ तथा पौष्टिक आहारको चयन र आहार ग्रहण गर्ने समय, तरिका तथा तालिका जानेर स्वस्थ रहन आफैंले आफूलाई मद्धत गरोस भन्ने रहेको छ ताकि शरीर अर्थात तनलाई स्वस्थ तथा शुद्धिकरण गर्नुको साथसाथ मन, भाव, चित्तको शुद्धिकरण अर्थात पूर्ण स्वास्थ बनाउन भरपुर मद्धत गर्न पुगोस् । फास्टीङका प्रकारहरु उदेश्य अनुसार फरक-फरक छन् - कसैको उदेश्य तौल घटाउनु हुन्छ, कसैको रोग निको गर्नु हुन्छ, कसैको रोग लाग्न नदिन तथा सदा तन्दुरुस्त रहनकोलागि हुने गर्दछ । उदेश्य अनुसार नै फास्टीङ विज्ञहरुले फास्टीङको प्रकार, तरिका तथा तालिका दिने गर्दछन् । फास्टीङले मानिसकाे शरीर र मनका धेरै प्रकारका रोगहरु निको गर्दछ तसर्थ मानिस पूर्ण रूपमा स्वस्थ रहन व्रत तथा उपवास जत्तिकै फास्टीङको पनि अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ ।


अटोफेजी र यसको प्रक्रिया

अटोफेजी फास्टीङ गरिएको अर्थात भोको रहेको समयमा शरीर विशेष अवस्थामा पुग्दछ, यो समयमा शरीर स्वस्थ बनाउन शरीर आफैंले आन्तरीक रुपमा गर्ने क्रियात्मक प्रक्रिया हो । मानिसको शरीर स्वयं ब्रम्ह हो र शरीर आफैं अत्यन्तै बुद्धिमान हुन्छ । शरीरका आन्तरीक गतिविधिहरु कुन तथा कस्तो अवस्थामा कहिले, के, कसरी, किन गर्ने अथवा नगर्ने भन्ने सन्दर्भमा वृहद क्रिया तथा प्रक्रियाहरु शरीर आफैंले निर्णय गर्दछ । अटोफेजीका अनुसार खाना खाएपछिको समयमा र लामो समय खाना नखाएको समयमा अर्थात फास्टीङ गरिएको समयमा शरीरलाई स्वस्थ राख्न शरीर आफैंले आन्तरीक रुपमा फिउल रिसाइकिलिङ अर्थात उर्जाको परिचालन गर्न शुरू गर्दछ जसलाई पूर्वीय सनातन दर्शका चिकित्साशास्त्रले आत्म–चिकित्सा भनेका छन् । अटोफेजी सनातन चिकित्साशास्त्रमा उल्लेख गरिएको आत्म-चिकित्सा विषयकै समय सान्दर्भिक परिमार्जन हो । यो प्रक्रियामा शरीरमा विभिन्न आन्तरीक क्रियाहरु हुन्छन् र यस क्रममा शरीर आफैंले शरीरमा रहेका हानीकारक कोष तथा हानीकारक ब्याक्टेरीयाहरुलाई नष्ट गर्दछ र शरीरमा अतिरिक्त जम्मा भएर रहेको बोसोको प्रयोग उर्जा तथा खानाको रुपमा गरेर शरीरलाई सन्तुलन र स्वस्थ राख्ने क्रिया गर्दछ । शरीरमा रहेका हानीकारक कोष तथा हानीकारक ब्याक्टेरीयाहरु नै विभिन्न प्रकारका रोगहरु हुन् जसलाई शरीरको कुन अंगमा कसरी देखियो  त्यही अनुसार फरक-फरक नामाकरण गर्ने गरिन्छ । फास्टीङ गर्ने विधि र तरिकाहरु निश्चित गरिएका हुन्छन् जस्तोकि कति घण्टा केही पनि नखाने, कति घण्टापछि पेय, हल्का खाना तथा सामान्य खाना खाने, कुन–कुन अवस्थामा शरीरको आन्तरीक अवस्थामा के–के हुन्छ र उक्त समयमा के-के गर्ने तथा नगर्ने आदि ।


फास्टीङ गर्ने क्रममा ३६ घण्टा केही पनि नखादा शरीरमा अत्यन्तै लाभकारी तथा सकारात्मक परिवर्तनहरु आउँन शुरु हुन्छन् तथा शरीर नयाँ बन्न थाल्छ । फास्टीङ गर्ने क्रममा पहिलो ४ देखि ८ घण्टामा शरीरमा रगतमा चीनीको मात्रा घट्न थाल्छ; १२ घण्टाको फास्टीङमा शरीर स्वथ्य बन्ने आन्तरीक प्रक्रिया स्वतः शुरु हुन्छ र स्वस्थ शरीरकोलागि अति आवश्यक ग्रन्थी रस तथा हर्मोनहरु बन्न शुरु हुन्छन् । फास्टीङको १४ घण्टापछि शरीरले कीटोन्स बनाउन शुरुगर्छ, कीटोन्सले शरीरमा अतिरिक्त रुपमा जम्मा भएर रहेको बोसो पगालेर खान शुरुगर्छ, १६ देखि १८ घण्टाको फास्टीङमा शरीरले बोसो जलाउन थाल्छ । फास्टीङको वास्तविक लाभ २४ घण्टाको फास्टीङपछि शुरु हुन्छ । २४ घण्टापछि शरीर अटोफेजी अर्थात आत्म–चिकित्सा प्रक्रियामा प्रवेश गर्छ, यसको मतलव हो शरीरको पुनर–संरचना तथा शरीर नवीकरणको प्रक्रिया शुरु हुनु । अटोफेजीको अवस्थामा शरीरमा जतिपनि नकारात्मक, समस्याग्रस्त तथा रोगी कोषहरु र हानिकाक ब्याक्टेरीयाहरु छन् तीनलाई हटाउन शुरु गर्दछ अर्थात शरीरको शुद्धिकरण(डिटक्सीफीकेसन) प्रक्रिया शुरु हुन्छ आत्म-चिकित्सा प्रक्रियाबाट । ३६ घण्टासम्मको फास्टिगंमा अटोफेजी अर्थात आत्म–चिकित्साको काम गर्ने प्रभावकारीता ३०० प्रतिशतसम्म बढ्छ र यो अवस्थामा शरीरले शरीरमा अतिरिक्त जम्मा भएर रहेको बोसोलाई उर्जाको रुपमा प्रयोग गरेर यो सबै प्रक्रिया गर्दछ र तिब्र गतिमा शरीरका विकारहरु र शरीरको अनावश्यक तौल घटाउन शुरुगर्छ र शरीर स्वस्थ हुदै जान्छ । प्राविधिक भाषामा सहज किसिमले अटोफेजी प्रक्रियालाई कम्प्युटरमा  एन्टीभाइरस चलाएर कन्प्युटरका प्रोग्राम तथा सफ्टवेयरहरुमा लागेका भाइरस हटाइएको  प्रक्रियाको रूपमा बुझ्न सकिन्छ । अटोफेजी प्रक्रियाले शरीर र मनका हरप्रकारका समस्या तथा रोगहरुको उपचार गर्दछ । कुनै विशेष परिस्थितिमा बाहेक मानिसको शरीर पूर्ण रूपमा स्वस्थ छ भने मानिसको मन पनि स्वस्थ तथा सकारात्मक हुन्छ । मन स्वस्थ तथा सकारात्मक छ भने यसको प्रत्यक्ष्य प्रभाव भाव र चित्तमा पनि स्वतः पर्दछ र मानिस पूर्ण रूपमा स्वस्थ हुन्छ । यसकारण व्रत र फास्टीङ दुवैको अन्तिम उद्देश्य मानिसको तन, मन, भाव, चित्तको शुद्धिकरण गर्नु हो । 


योग साधनाका विधि तथा पद्धतिहरु अनुशरण गरेर

सनातन अध्यात्म दर्शनका अत्यन्तै महत्वपूर्ण विषयहरु योग विज्ञान, चक्र विज्ञान, तत्व विज्ञान, कोश विज्ञान, ग्रन्थी विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित रहेका मनुष्यको शरीर, मन, प्राण, भाव, वुद्धि, आत्मा अर्थात चेतनाको विकास गर्ने प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगात्मक अनुशरणबाट जीवनका सबै आयामहरुको सन्तुलित व्यवस्थापन गर्न सकिन्छ । योगीक सनधना(मुख्यतः योगासन, प्राणायाम, ध्यान) नै हाम्रो दैनिक जीवनशैली सुदृढ गर्ने अत्यन्तै प्रभावकारी र भरपर्दो एकमात्र उपायको रुपमा विश्वव्यापि मान्यता प्रदान गरिदै आइएको छ । सनातन योग विज्ञानका योगीक साधनाका प्रभावकारी, परिणाममुखी तथा अत्यन्तै उपलव्धिमूलम प्रक्रिया, विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा प्रयोगात्मक अभ्यासको रुपमा अनुशरण गरेर यसबाट जीवनशैली सुधारेर जीवनका सबैप्रकारका ज्ञात–अज्ञात अशुद्धता, अस्वस्थता, असन्तुलन, खराव आदत, खराव संगत, असहज सम्वन्धहरुबाट वाहिर आउन र आफ्नो स्वस्थ्यका सबै आयामहरुमा सुधार गरेर हरप्रकारले समग्र जीवनलाई सहि ढंगले व्यवस्थित तथा विकसित बनाउन सकिन्छ ।


Sunday, 30 November 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -२५

डासिर्जना भण्डारी

  #अध्यात्म_दर्शन #जीवन_दर्शन 


जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा

योगीक साधना विधि प्राणायामको वैज्ञानिता र प्रभावकारिता




प्राणायाम, प्राण उर्जा उपचार पद्धति र आधूनिक उपचार पद्धति 

ब्रम्हाण्डिय उर्जा र मनुष्यको उर्जा शरीरको संरचना

जसरी मनुष्यको स्थुल शरीर(फिजिकल बडी)मा दृश्य रुपमा असंख्य साना ठूला नशा तथा धमनिहरु(भेन्स एण्ड आर्टरीज) हुन्छन्, तिनमा दृश्य रक्तकण र अदृश्य अक्सिजन तथा प्राण वायु एकसाथ निरन्तर प्रवाहित भैरहेका हुन्छन् र स्थुल शरीर जीवित, स्वस्थ, सक्रिय र सन्तुलित रहन्छ । ठिक त्यसैगरि मनुष्यको उर्जा शरीर तथा सुक्ष्म शरीर(इनर्जी तथा सटल बडी)मा पनि अदृश्य रुपमा असंख्य नाडीहरु रहेका हुन्छन् र तिनीहरुमा पनि उस्तै प्रकारले श्वास तथा प्राण उर्जा निरन्तर प्रवाहित भैरहेका हुन्छन् र सुक्ष्म शरीर जीवित, स्वस्थ, सक्रिय र सन्तुलित रहन्छ । पूर्वीय सनातन शास्त्रहरुमा केहीमा मनुष्यको सुक्ष्म शरीरमा नाडीहरुको संख्या ७२ हजार रहेकाछन् भन्ने उल्लेख गरिएको छ तर यी ७२ हजार प्रमुख नाडीहरु हुन् किनकी भगवान शिवद्वारा प्रतिपादित योग तथा ध्यान साधनाको मूल ग्रन्थ ‘विज्ञान भैरव तन्त्र’मा नाडीहरुको कुल संख्या औषतमा साढे तीन लाख हुन्छन् भनिएको छ । मनुष्यको सुक्ष्म शरीरका नाडीहरुमा बहने मूल तत्व प्राण उर्जा हो जो ब्रम्हाण्डिय समष्टि महाउर्जाको व्यष्टि(सानो) स्वरुप हो र यसलाई कुण्डलिनी उर्जा भनिन्छ । सुक्ष्म शरीरका नाडीहरुमा ब्रम्हाण्डिय महाउर्जा तथा महशक्तिका प्रमुख केन्द्र सात चक्रहरुको माध्यमबाट यो कुण्डलिनी उर्जा अर्थात प्राण उर्जा निरन्तर प्रवाहित भैरहन्छ । मनुष्यको सुक्ष्म शरीरका प्रमुख सात चक्र(मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्राार) तथा प्रमुख तीन नाडी(इडा तथा चन्द्र नाडी, पिंगला तथा सूर्य नाडी, सुषुम्ना तथा मध्य नाडी)हरु श्वासको आयाम तथा लयसंग एकवद्ध भएर चल्दछन् तथा श्वासकै गतिमा परिचालित(रेगुलेट) हुन्छन् र यो प्रक्रियालाई योग तथा ध्यान साधनाको मूल ग्रन्थ ‘विज्ञान भैरव तन्त्र’मा श्वर विज्ञान भनिएको छ । मनुष्यको सुक्ष्म शरीरका नाडीहरुमा चल्ने प्राण उर्जा तथा समष्टि ब्रम्हाण्डिय महाउर्जाको व्यष्टि रुप ब्रम्हाण्डका सबै प्राणी, वनस्पति तथा पदार्थहरुको चेतनाको सामुहिक महासागर हो, ब्रम्हाण्डिय महाउर्जाको यो महासागरलाई नै प्रकृति, अस्तित्व, परम सत्य, परम चेतना, श्रेष्ठ चेतना(सुपर कन्सस), परमात्मा, परब्रम्ह, इश्वर, गड, खुदा, अल्ला, प्रकृति–पुरुष, शिव–शक्ति, सदाशिव, आद्ययाशक्ति आदि विभिन्न दिव्य शव्दावलीहरुले सम्वोधन गर्ने गरिन्छ जो निराकार, निर्गुण, अव्यक्त छ तर सर्वव्यापक(ओमनीप्रेजेन्ट), सर्वशक्तिमान(अलमाइटी) छ र ब्रम्हाण्डका सबै सृष्टिहरु–प्राणी, वनस्पति, पदार्थहरुको कणकणमा अवस्थित रहेको छ । यही ब्रम्हाण्डिय महाउर्जाले समुच्चा ब्रम्हाण्ड र यहाँ स्थित सृष्टिका सबै प्राणी, वनस्पति तथा पदार्थहरुको जीवनचक्रका गतिहरु चलाइरहेको तथा नियन्त्रण छ र सबैलाई एकप्रकारको ऋत तथा धर्म तथा चक्रमा सन्तुलित रुपमा टिकाइराखेको छ । ब्रम्हाण्डका सबै प्राणी, वनस्पति तथा पदार्थहरुको सृजनको मूल श्रोत यही ब्रम्हाण्डिय महाउर्जा नै हो जो समष्टि(विराट) स्वरुप हो र मनुष्य तथा सबै प्राणी तथा वनस्पतिहरुको सुक्ष्म शरीरका नाडीहरुमा बहने प्राण उर्जा ब्रम्हाण्डिय महाउर्जाको व्यष्टि रुवरुप हो र यही उर्जालाई सबैले बुझ्ने भाषामा श्वास–प्रश्वास, प्राण वायु, प्राण उर्जा तथा अक्सिजन भनेर अवस्था र आवश्यकता अनुसार फरक–फरक प्रकारले सम्वोधन गर्ने गरिदै आइएको छ । तसर्थ मनुष्यले निरन्तर लिरहने श्वास–प्रश्वास, प्राण वायु, प्राण उर्जा तथा अक्सिजन केवल हावा होइन, हावाको माध्यमबाट ब्रम्हाण्डको महाउर्जा प्राण उर्जाको रुपमा मनुष्यको शरीरका सबै आयामहरुमा प्रवेश गरेको तथा गराइएको अदभूत अवस्था तथा प्राकृतिक विज्ञान हो र यही प्रक्रियालाई नै समग्रमा प्राणको आयाम ‘प्राणायाम’ भन्ने गरिन्छ । 

प्राण उर्जामा अवरोध नै सबै अस्वस्थताको कारण

मनुष्यको जीवनशैली, खानपान, व्यायाम, शारीरिक तथा मानसिक सक्रियता, सोच, विचार, भाव आदि अवस्थाहरु नकारात्मक प्रकृतिका छन् तथा विरुद्धका गतिविधिहरु अनुसार चलिरहेका छन् भने यस्तो अवस्थामा मनुष्यको सुक्ष्म शरीरका चक्र तथा नाडीहरुमा निरन्तर प्रवाहित भैरहने प्राण उर्जा विखण्डित हुन्छ र नाडी तथा चक्रहरुमा ठाउँ–ठाउँमा टुट्न, एकैठाउँमा थुप्रिन तथा गाँठागुठी पर्न थाल्छन् र यसको नकारात्मक प्रभावका कारण प्राण उर्जाको निरन्तर प्रवाह र प्रक्रियामा अवरोध आउन थाल्छ र कहीं प्राण उर्जा रोकिन थाल्छ, कहीं अपुग हुन थाल्छ र कहीं बढि हुन थाल्छ । यही अवस्थालाई सनातन अध्यात्म साधनामा चक्र तथा नाडीहरुमा उर्जा जकडिएको(ब्लक्ड), निष्क्रिय भएको, बढि सक्रिय भएको तथा समग्रमा असन्तुलित भएको भनिन्छ । प्राण उर्जाको प्रवाह जति मात्रामा रोकिन्छ त्यतिनै मात्रामा सम्वन्धित अंगमा त्यतिनै तहको गहिरो तथा सामान्य रोग तथा अस्वस्थताका लक्षणहरु देखिन थाल्छन् । मनुष्यको शारीरिक, मानसिक तथा भावनात्मक आयामहरुमा देखिने सबैप्रकारका रोग तथा अस्वस्थताहरुको मूल कारण शतप्रतिशत रुपमा प्राण उर्जाको नियमित प्रवाहमा आएको अवरोध नै हो । प्राण उर्जाको प्रवाहमा आएको अवरोधका कारण सर्वप्रथम मनुष्यको उर्जा शरीर तथा सुक्ष्म शरीर तथा आभामण्डलमा लक्षण तथा समस्याहरु आउछन् र केहीसमयपछि यी लक्षणका नकारात्मक प्रभावहरु मनुष्यको शारीरिक अंग, मानसिक तथा भावनात्मक अवस्थाहरुमा रोग तथा अस्वस्थताका रुपमा प्रकट हुन्छन् ।

प्राण उर्जा उपचार पद्धतिको महत्व

प्राण उर्जा तथा यसको समसिष्ट रुवरुप ब्रम्हाण्डिय महाउर्जाबिना ब्रम्हाण्ड तथा ब्रम्हाण्डमा स्थित सबै प्रकारका प्राणी, वनस्पति तथा पदार्थहरुको सन्तुलित परिचालन तथा नियन्त्रण असम्भव हुन्छ । सनातन अध्यात्म विज्ञानमा उल्लेखित मनुष्यको प्राण उर्जा शुद्धिकरण तथा सन्तुलिकरणका सबै प्रकारका चिकित्सा पद्धतिहरु र संसारभरिका समाज तथा समुदायहरुले प्राचीनकालदेखि अनुशरण गर्दै आइरहेका विभिन्न प्रकारका प्राचीन उपचार पद्धतिहरु– योगीक चिकित्सा पद्धति; ध्यान उपचार पद्धति; ध्वनि उपचार पद्धति; सुगन्ध उपचार पद्धति; धूवाँ उपचार पद्धति; प्रकृति तथा प्राकृतिक उपचार पद्धति; रेकी उपचार पद्धति; अकुप्रेसर उपचार पद्धति; अकुपंचर उपचार पद्धति अर्थात समग्रमा प्राण उर्जा उपचार पद्धति जसलाई आध्यात्मिक उपचार पद्धति पनि भन्ने गरिन्छ, यी सबै उपचार पद्धतिहरुका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरुले एकै कुरामा जोड दिन्छन् कि मनुष्यको शरीरका सबै आयामहरु– शारीरिक शरीर तथा यसका स्थुल अंगहरु, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरमा देखिएका सबैप्रकारका अस्वस्थता तथा समस्याहरु मनुष्यभित्र रहेको प्राण उर्जामा आएको अशुद्धि, असन्तुलन तथा अपर्याप्तता कारण उत्पन्न भएका हुन् । विभिन्न प्राण उर्जा उपचार पद्धतिहरुको माध्यमबाट ब्रम्हाण्डिय महाउर्जाको सानो अंश प्राण उर्जाको पर्याप्त आपूर्ति शरीरका सबै आयामहरुमा उपलव्ध गराउने प्रक्रिया शुरु गरेपछि सबैप्रकारका शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अस्वस्थता तथा समस्याहरु विस्तारै क्रमशः आफैं निको हुदै तथा समाधान हुदै जान्छन् । आधूनिक चिकित्सा पद्धतिमा उपचार हुन नसकेका तथा उपचार सम्भवनै नभएका कयौं अस्वस्थता तथा समस्याहरु समेत ब्रम्हाण्डिय महाउर्जा तथा प्राण उर्जा उपचार पद्धतिमा आधारीत रहेका कुनै पनि प्रक्रिया तथा विधिहरुको माध्यमबाट छोटो तथा लामो समयमा बिना कुनै अतिरिक्त नकारात्मक प्रभाव चमत्कारिक किसिमले उपचार तथा समाधान भएका धेरै उदाहरणहरु विश्ववभरि रहेका हामी सबैसामु जगजाहेर छन् । 

तर यसको तात्पर्य शरीरका आयामहरुमा अस्वस्थता तथा समस्या हुदा आधुनिक चिकित्सा तथा उपचार पद्धतिको सहयोग नलिनु तथा उपचार नगराउनु, प्राण उर्जा उपचार पद्धतिमा मात्र भरपर्नु भन्ने विलकुल होइन । प्राण उर्जा उपचार पद्धति र आधूनिक चिकित्सा पद्धति एकअर्काका परिपुरक तथा सहयोगी हुन् प्रतिद्वन्दि होइनन् । प्राण उर्जा तथा आध्यात्मिक उपचार पद्धतिले मनुष्यका जीवनका समग्र आयामहरु सदा हरप्रकारले आरोगी र विकसित रहनु पर्दछ र यी आयामहरुको निरन्तर आरोग्यताका लागि उसको जीवनयापन(आहार–विहार–व्यवहार) सहि, सन्तुलित तथा व्यवस्थित प्रक्रियाले अगाडि बढाउनु पर्दछ भन्नेमा जोड दिन्छ किनकी सनातन अध्यात्म विज्ञान मनुष्यलाई सहज, सरल, सफल र विकसित जीवन जीउन सिकाउने कलाको विज्ञान(दि आर्ट आफ लिभिंग) हो । तर केही दशकयता अत्याआधूकिताको महामारीले सबैभन्दा बढि मनुष्यको जीवनशैलीमा आक्रमण गरेरको छ र उसको जीवशैलीलाई हदैसम्म अशुद्ध, असन्तुलित, अव्यवस्थित तथा अस्तव्यस्त बनाइदिएको छ । यही हदैसम्म अस्तव्यस्त भएको जीवनशैलीको परिणामले ल्याएका हदैसम्मका शारीरिक, मानसिक तथा भावनात्मक अस्वस्थताहरुको उपचार गर्न हदैसम्मकै उपायहरु अपनाएर प्रादुर्भाव भएको हो आधूनिक चिकित्सा पद्धति जसमा मनुष्यको नभएर उसको रोगको उपचार गर्न अत्याधूनिक उपकरणहरु र उच्च प्रशोधित औषधिहरुको प्रयोग गरेर अत्याधूनिक चिकित्सा पद्धतिको माध्यमबाट उपचार गर्ने गरिन्छ । त्यसैले मनुष्यको अस्वस्थता तथा समस्याको गंभिरताको अवस्था तथा आफनो सजिलो–अप्ठ्यारो हेरेर र बुझेर मात्र आधूनिक उपचार पद्धति तथा प्राण उर्जा उपचार पद्धतिको चयन र अनुशरण गर्नु उपयुक्त हुन्छ ताकि आफूलाई कुनै प्रकारको असहजता नआओस । 

प्राण उर्जा उपचारमा अपनाउनु पर्ने सावधानी

अस्वस्थता तथा समस्याको अवस्ता गंभिर छैन, आकस्मिक सेवा लिनु आवश्यक छैन तथा सामान्य अवस्था छ भने एक समयमा कुनै एक उपचार पद्धति तथा अवस्था हेरेर एकैसाथ दुवै प्राण उर्जा उपचार पद्धति तथा आधूनिक यपचार पद्धतिको अनुशरण गर्न पनि सकिन्छ । यस्तो छनौटको अवस्था आएको समयमा आफ्नो अस्वस्थता तथा समस्याको वास्तविक अवस्था र सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार आफ्नो स्वास्थ उपचारको सन्दर्भमा आफैंले सहि निर्णय लिनुपर्दछ । आधूनिक उपचार पद्धति रोगको उपचार गर्न प्रतिपादन गरिएको आधूनिक चिकित्सा विज्ञान हो, यसको औषधि उपचारले बिमारी निको गर्न चाँढै असर गर्दछ र काम गर्दछ किनकी यो मनुष्यलाई रोग लागेपछि उपचार गर्नुपर्छ भन्ने मान्यता तथा सिद्धान्तमा आधारित रहेको रोगको उपचार गर्ने पद्धति हो तसर्थ मनुष्यको भन्दा राृगको बढि अध्ययन र फिकर गर्दछ तर प्राण उर्जा तथा आध्यात्मिक उपचार पद्धतिले रोगका साथै रोग लाग्नुको कारण तथा रोगको मूलश्रोत दुवैको उपचार गर्दछ । प्राण उर्जा उपचार पद्धतिको उपचार तथा औषधिको सकारात्मक प्रभाव अलि ढिलो देखिन्छ तथा यसले अलि ढिलो काम गर्दछ तर पक्का तथा स्थाइ किसिमले गर्दछ फेरी मनुष्यमा रोग तथा समस्या नदोहोरिने गरि उपचार गर्दछ तथा निको पार्दछ किनकी प्राण उर्जा तथा आध्यात्मिक चिकित्सा पद्धति रोगको नभई मनुष्यको जीवनशैलीमा काम गर्ने उपचार पद्धति हो र यो उपचार पद्धति रोग लागेपछि उपचार गर्नुभन्दा मनुष्यको शरीरका आयामहरुमा कुनै प्रकारका रोग लाग्न तथा समस्याहरु आउन नै नदिनु वुद्धिमानी हो भन्ने मान्यता तथा सिद्धान्तमा आधारित रहेको हुनाले समस्याको जरोसम्म नै पुगेर सबै कारणहरु जरैदेखि ओखलेर फालिदिन्छ र निरन्तर अखण्ड आरोग्यताको सैद्धान्तिक र व्यवहारिक पक्षलाई आत्मासाथ गर्न सुसुचित गर्दछ । आधूनिक चिकित्सा पद्धतिमा अत्याधूनिक उपकरणहरु तथा उच्च प्रशोधित औषधिको प्रयोग गरेर गरिने अत्याधूनिक उपचार पद्धतिमा रोग तथा अस्वस्थताको उपचार गर्ने प्रयास गरिन्छ जसको नकारात्मक अतिरिक्त प्रभावहरु अत्यन्तै भेरै प्रकारका हुने गर्दछन् र एक अंगको उपचार गरेर त्यसलाई ठिक गर्दानगर्दै उपकरणहरुका हानिकारक विकिरण र औषधिहरुका विषाक्त रसायनहरुका नकारात्मक प्रभावका कारण शरीरको अर्को अंगमा रोग तथा अस्वस्थताले जन्म लिसक्छ । तर प्राण उर्जा तथा आध्यात्मिक यपचार पद्धतिले मनुष्यको जीवनशैली विशेषगरि उसको आहार, विहार र व्यवहारमा परिवर्तन गर्ने तथा गराउने व्यवहारिक प्रयोगात्मक अभ्यासहरुबाट उपचार गर्ने प्रयास गर्दछ यसकारण यसको सकारात्मक अतिरिक्त प्रभाव मात्र हुने गर्दछ । प्राण उर्जा उपचार पद्धतिका सकारात्मक अतिरिक्त प्रभावहरु मात्र हुने भएकाले शरीरको एउटा अंगको उपचार गर्ने क्रममा अर्को अंगको रोग तथा अस्वस्थता पनि स्वतः निको हुदै जानथाल्छ । 

प्राण उर्जा तथा आध्यात्मिक उपचार पद्धतिको सेवा लिन तथा दिन, सेवा लिने सेवाग्राही तथा तथा सेवा दिने सहयोगी व्यक्तिहरुले ब्रम्हाण्डिय महाउर्जा तथा प्राण उर्जाका विषय सान्दर्भिक सामान्यदेखि गहन सैद्धान्तिक ज्ञान र व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका ज्ञान तथा विज्ञानहरु राम्ररी सिक्नु र सिकाउनु तथा बुझ्नु र बुझाउनु पर्दछ । प्राण उर्जा उपचार पद्धतिको प्रक्रिया, विधि तथा पद्धति मिलेन तथा गलत भयो भने यसको पनि नकारात्मक प्रभाव पर्नसक्दछ । प्राण उर्जा उपचार पद्धतिमा विशेषगरि मनुष्यको मानसिक शक्ति(माइन्ड पावर), चेतनाको स्तर(लेभल अफ कन्ससनेस) र आभामण्डलको शुद्धता(प्युरीटी अफ क्वान्टम–फिल्ड)मा प्रत्यक्ष रुपमा काम गरिन्छ सहि ढंगले उसको रोग तथा अस्वस्थताको उपचार गर्नकालागि । मानसिक शक्ति अन्तर्गत मनुष्यको इच्छाशक्ति, मनोवल, भावशक्ति, सकारात्मक सोच तथा विचार, आशावादिता, ब्रम्हाडिय महाउर्जा अर्थात इश्वरप्रति आस्था आदि पर्दछन् र यी विषयहरु स्नायु भाषा प्रणाली(न्युरो लिंग्युइस्टिक प्रोग्राम) अन्तर्गत पर्दछन् । मनुष्यको चेतनाको स्तर अन्तर्गत मनुष्यको शरीरका आयामहरु– शरीर, मन, भावबाट निरन्तर ब्रम्हाण्डमा प्रवाहित भैरहने उर्जाको तह तथा स्तर कति शुद्ध तथा सकारात्मक छ; कति फैलिएको छ; कति घना छ आदि विषयहरु पर्दछन् । आभामण्डलको शुद्धता अन्तर्गत मनुष्यको हरप्रकारका जीवनका शैली तथा प्रक्रियाहरु जस्तो खानपान, व्यायाम, सुताइ तथा आराम गराई, कार्य र जीवन, उसका सम्वन्धहरु आदिका सन्तुलन तथा असन्तुलहरु के कस्ता छने आदि विषयहरु पर्दछन् किनकी मनुष्यको जीवनशैलीको प्रत्यक्ष प्रभाव सर्वप्रथम उसको आभामण्डल तथा उर्जा क्षेत्रमा पर्दछ । आभामण्डल तथा उर्जा क्षेत्रको प्रत्यक्ष प्रभाव उसको चेतनाको स्तरमा पर्दछ । चेतनाको स्तरको प्रत्यक्ष प्रभाव उसको मानसिक तथा भावनात्मक शक्तिमा पर्दछ र मानसिक तथा भावनात्मक शक्तिको प्रत्यक्ष प्रभाव उसको शारीरिक, मानसिक, भावनात्मक स्वास्थ्य तथा सन्तुलनमा पर्दछ किनकी यी सबै आयामहरु एकआपसमा प्रत्यक्ष रुपमा अन्तरसम्वन्धित रहेका हुन्छन् । यिनै गतिविधिहरुको सक्रियताको आधारमा हरेक मनुष्यले आफ्नो जीवनको वास्तविकता निर्माण र निर्धारण गरिरहेको हुन्छ । मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै आयाम तथा पक्षहरुमा सकारात्मक स्तारोन्नती गराएर रोग तथा अस्वस्थताको सहि ढंगले उपचार गर्ने गरिन्छ र यस् सबै आयाम तथा पक्षहरुको स्तरोन्नतीमा प्राण वायु तथा मनुष्यको श्वाश–प्रश्वासका गतिविधिहरुले प्रत्यक्ष प्राभा पारिरहेको हुन्छ र महत्पूर्ण ढंगदे सहयोग प्रदान गरिहेको हुन्छ । तसर्थ श्वाश–प्रश्वासका गतिविधिहरुको विषयहरुबारे उपचार लिने र दिनेवाला दुवैपक्षले योगीक साधना प्राणायामका सबै सान्दर्भिक विषयहरु राम्रारी बुझ्नु र जान्नु अत्यावश्यक हुन्छ तर परिणामको उपलव्धिमूलक प्रभावकारिता र उल्लेख्य लाभकालागि उपचार लिनेवालाले भन्दा उपचार दिनेवालाले प्राणायामका सबै सैद्धान्तिक तथा व्यवहारिक पक्षहरुबारे राम्ररी सिक्नु, जान्नु र बुझ्नु अपरिहार्य हुन्छ ।  


छिट्टै,
योगीक साधना विधि प्राणायामको वैज्ञानिकता र प्रभावकारिता



खण्ड -२४ का विषयहरु
योगीक साधना विधि प्राणायामको पृष्ठभूमि
योगीक साधना विधि प्राणायामको पराभौतिक अवधारणा
श्वास तथा प्राणको वास्तविकता र योगीक महत्व 
योगीक श्वास तथा प्राण उर्जा किन महत्वपूर्ण छ र ?
स्वास्थ्यको मूलआधार प्राणिक तथा उर्जा शरीर
प्राणिक तथा उर्जा शरीर र स्वास्थ्यको अन्तरसम्वन्ध
लामो–गहिरो श्वास तथा प्राणको आयामबाट हुने स्वास्थ्य लाभहरु


Wednesday, 26 November 2025

पुस्तक- सनातन ज्ञान अध्यात्म विज्ञान: भाग -१; -२; -३; -४; -५

सनातन दर्शन विषयक्रम

https://spiritualartcle24.blogspot.com/

https://fbstatus024.blogspot.com/ 

https://bsirjana.blogspot.com/


विषयक्रम भाग -५








विषयक्रम भाग -४

*******************************************  





विषयक्रम भाग -३



*******************************************  






विषयक्रम भाग -२



************************************************



    विषयक्रम भाग -१



                                                     PDF

    https://drive.google.com/file/d/1q-T4tE-zJvL5QaotQSXzBC6Zj8zjkGgw/view?usp=sharing

    ***************************************


    ***************************************